काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकहोल लोडर पुर्याइएको छ।
बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकामा १३ जना सम्पर्कमा आएपछि अझै १७८ जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि ठूला मेसिन प्रयोग गरेर लेदो, ढुंगा तथा माटो हटाउने काम भइरहेको छ।
ठूला उपकरण लैजान नसक्दा यसअघि साना एस्काभेटरबाट मात्र खोजी हुँदै आएको थियो। अडिट तथा मुख्य सुरुङ सफा गरेपछि ठूला मेसिन आयोजनास्थलसम्म पुर्याउन सम्भव भएको हो।
बाढीले आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचना तथा बेपत्ताको अवस्था पत्ता लगाउन उत्खनन जारी रहेको आयोजनाले जनाएको छ।