काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन्।
पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको पौडेलले बताए।
उनले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको बताए। कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताए।
निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताए। उनले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए।
सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबी समेत गरेका छन्।