बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले निर्माणाधीन कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव र गुनासो संकलन गरेको छ।
राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा आयोजित कार्यक्रममा आयोजनाका निर्देशक राजु आचार्यले किसानका समस्या तथा सुझाव सुनेका थिए। किसानले सहज र नियमित रूपमा सिँचाइ पानी उपलब्ध गराउन माग गरेका छन्।
निर्देशक आचार्यले किसानकै लागि आयोजना भएकाले निर्माणमा उनीहरूको राय समेट्न गुनासो सुनुवाइ गरिएको बताए। पूर्वी नहरअन्तर्गतका बाँकी शाखा र उपशाखा नहरको निर्माण दुई–तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुझाव संकलन भइरहेको उनले जानकारी दिए।
आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माणमा २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ। आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ। हाल करिब २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।