सुर्खेत । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका एक हजार ३७ वटा आयोजना सम्पन्न भएका छन्।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार उक्त वर्ष सञ्चालन गरिएका एक हजार ४२२ आयोजनामध्ये एक हजार ३७ वटा सम्पन्न भएका हुन्। २६१ आयोजनाको काम भने चालु आर्थिक वर्षमा जारी छ भने १२४ आयोजनाको सम्झौता हुन सकेन।
मन्त्रालयका अनुसार कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत जनसङ्ख्यामा पुगेको छ। तर, उच्च तथा मध्यमस्तरको खानेपानी सुविधा चार प्रतिशतमा मात्र सीमित छ।
ऊर्जा उत्पादनतर्फ प्रदेशमा हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ, जबकि जलविद्युत्को सम्भावित क्षमता १८ हजार मेगावाट रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ३५ हजार २९७ हेक्टरमा मात्रै वर्षभरि सिँचाइ सुविधा पुगेको छ। तथ्याङ्कले आयोजना निर्माण बढे पनि कर्णालीमा खानेपानी, सिँचाइ र ऊर्जा पहुँच विस्तारको आवश्यकता अझै रहेको देखाएको छ।