पाल्पा। पाल्पा जिल्लामा प्रस्तावित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ४ चिनियाँ कम्पनीको प्राविधिक प्रस्ताव पास भएको छ।
सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते निकालेको ठेक्कामा आवेदन दिएका ९ कम्पनीबाट ४ चिनियाँ कम्पनी मात्रै प्राविधिक प्रस्तावमा पास भएका हुन्।
पास हुने कम्पनीहरुमा चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, कोभेक/सीआरइजीसी जेभी, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र सीसीइसीसी/सीआरसीसी १४- सियुयान जेभी रहेका छन्।
आगामी एक सातामा प्राविधिक प्रस्ताव पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिने बताइएको छ। प्रस्ताव खोलिएकै दिन सबैभन्दा कम कबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ।
आगामी साढे दुई महिनामा ठेक्का पाउने कम्पनीसँग सम्झौता गरेर मोविलाइज गर्ने योजना रहेको बताइएको छ। पाल्पा-बुटवल सडक खण्डअन्तर्गत पर्ने जोखिम क्षेत्र सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्न लागिएको हो।