काठमाडौं । पहिरोको कारणले पर्वतमा विद्युत प्रसारण लाइनको टावर ढलेपछि गण्डकी प्रदेशका चार जिल्ला पर्वत, बागलुङ, म्यादी र मुस्ताङमा विद्युत आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने टावरलाइ शुक्रबार पहिरोले ढालेको हो ।
कम्पनीले मोदी सबस्टेसनमा जोड्न निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावर पहिरोले ढलेको छ । यसबाट ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ ।
टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला , ५ मेगावाटको घलेम्दी खोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।
प्राधिकरणले प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल र पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सञ्चालन गर्नको लागि खटाएको छ ।