म्याग्दी। म्याग्दी नदी कटानको जोखिमयुक्त क्षेत्रमा मध्य हिउँद लागिसक्दा पनि तटबन्धका काम शुरु भएका छैनन्। कतै बजेट अभाव त कतै योजना अभावका कारण नदी नियन्त्रणको काम शुरु नभएको हो।
गत असारदेखि कात्तिकसम्ममा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा मध्य पुससम्म पनि नियन्त्रणको काम शुरु नभएपछि जोखिमपूर्ण क्षेत्रका बासिन्दा चिन्तित बनेका छन्। बजेट विनियोजन भएको नदीमा समेत नियन्त्रण योजनाको काम शुरू भएको छैन।
गत बर्खामा बाढीले जिल्ला सदरमुकाम बेनीमा कालीगण्डकी, बेनी नगरपालिका–२ बगरफाँट, वडा नम्बर ३ दूधेखोला, वडा नम्बर ४ सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा कटान गरेको थियो।
रूपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजना र मालिका गाउँपालिकाले ठेक्का लगाएको दरबाङ बजार संरक्षण योजनाको काम शुरु भएको छैन। ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी नियन्त्रण जस्तो संवेदनशील योजना निर्माणमा ढिलाइ भएको बताइएको छ।