काठमाडौं। लिपुलेक क्षेत्रमा भारत सरकारले शुरु गरेको सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाले नेपाल सरकारसँग माग गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न र निर्माण कार्य रोक्न नेपाल सरकारसँग माग गरेको गरेका हुन्।
केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको बताएका थिए । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाएको हो।
गत वर्ष भारतले नेपालको कालापानी क्षेत्र अन्तरगत पर्ने लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो।
भारतले नेपाली भूमिमा अतिक्रमण जारी राखेको भन्दै नेपालभर विरोध भएको थियो । सरकारले पनि भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतको कब्जामा रहेका कालीपानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ ।
हालै भारतीय प्रधानमन्त्री मोदीले नै लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको अभिव्यक्ति दिएपछि यस सम्बन्धी समाचारहरु सञ्चार माध्यममा आइरहेका छन्। तर नेपाल सरकार लगायत अन्य कुनै पनि पार्टीले यस विषयमा कुनै औपचारीक प्रतिक्रिया जनाएका छैनन्।