काठमाण्डौं। भोजपुरको टेम्केमैयुङमा अहिले बिजुली पुगेको छ। बिजुली बाल्ने सपना बोकेर बसेका भोजपुर टेम्केमैयुङ गाउँपालिकावासी अहिले हर्षित भएका छन्।
विद्युत् विस्तार भएपछि अहिले स्थानीयको दैनिकीमा नै परिवर्तन आएको छ। दक्षिणमा पिखुवा खोलादेखि उत्तरमा मैयुङ डाँडासम्म फैलिएको उक्त स्थानीय तहका कुनाकुनाका बासिन्दाले अहिले विद्युत्को केन्द्रीय प्रसाण लाइनको उपभोग गर्न पाएका छन्।
प्रदेश नं.१ मा रहेका १३७ स्थानीय तहमध्ये ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने पहिलो स्थानीय तह हो। उक्त गाउपालिकालाई गत वर्ष कात्तिकमा उज्यालो गाउँपालिका घोषणा गरिएको हो। चुनावका समयमा घोषणापत्रमा उल्लेख गरिएअनुसार विद्युत् विस्तारमा पूर्णता दिइएको र त्यससँगै पर्यटन, सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा पनि काम गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष धुर्वराज राईले जानकारी दिए।
स्थानीयका अनुसार हाम्रो गाउँसम्म विद्युत् आउला भन्ने हामीले सोचेकै थिएनौँ। स्थानीय तहको सरकार आएपछि हाम्रो जस्तो विकट ठाउँमा विद्युत् आएर गाउँनै झिलीमिली बनायो। उक्त स्थानमा अलिक हुनेखानेले सोलार बालेका थिए तर त्यो पनि चिसो तथा हुस्सुका कारण प्रयोग ल्याउन समस्या थियो। टुकी बत्तीको उज्यालोमा बस्दै आएका स्थानीयले अब नेट इन्टरनेट चलाउन पाउने भएका छन्। जसले गर्दा यस स्थानका स्थानीयको दैनिकीनै परिार्तन भएको छ।