हुम्ला। हिल्सा सिमकोट सडक आयोजना प्रमुखबिहीन हुँदा दुई दर्जन योजना प्रभावित बनेका छन्। कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण गरिरहेको हिल्सा सिमकोट सडक आयोजना प्रमुखबिहीन बनेको हो।
आयोजना प्रमुखका रुपमा रहेका बिसुनदास लामाको सरुवा भएको एक साता बित्दा पनि रिक्त प्रमुख पदमा कोही नआउँदा विकास निर्माण कार्य प्रभावित बनेका छन्। चालु आर्थिक वर्षमा २५ वटा योजना सञ्चालन भएकामा तीन वटा योजना सम्पन्न भएका छन् भने २२ वटा योजना प्रभावित बनेका छन्।
कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डको ताग्रु खोलामा पुलको काम गर्दै आएको निर्माण कम्पनीले काम सकेपनि आयोजना प्रमुख नै नभएका कारण भुक्तानी नपाएको जनाएको छ।
आयोजनाअन्तर्गत पाँच वटा पक्की पुल, एउटा बेलिब्रिज र १६ वटा सडक निर्माणसम्बन्धी योजना रहेका छन्। यी योजनामध्ये बढीमा २२ करोड र घटीमा एक करोड बजेट विनियोजित भएर निर्माण सम्झौता भइसकेको आयोजनाले जनाएको छ। संघीय सरकारअन्तर्गत सबैभन्दा बढी बजेट भएका आयोजनामध्ये हिल्सा सिमकोट सडक आयोजना पर्छ।
चालु आर्थिक वर्ष आयोजनाका लागि ५५ करोडभन्दा बढीको बजेट व्यवस्था भएको छ। विभिन्न समस्याका कारण प्रभावित बनिरहेको आयोजनाका काम अहिले सहज भएका बेला आयोजना प्रमुख नै नभएपछि अघि बढ्न समस्या भएको निर्माण व्यवसायीहरुको भनाइ छ।