काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले भूकम्प लगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवन संहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताएका हुन्।
आईतबार ललितपुरमा आयोजित २४ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले विपद् जोखिमलाई न्यूनीकरणलाई ध्यानमा राखेर स्थानीय तहले पनि भवन निर्माण गर्दा भवन संहिताको पूर्ण पालना गराउनुपर्ने विषयमा बढी जोड दिए।
प्रधानमन्त्री देउवाले सुरक्षित भवन निर्माण गर्ने र भुकम्पसहितका विपद् जोखिम न्यूनिकरण गर्ने कार्यमा तीन वटै तहको सरकारको बलियो सहकार्यको आवश्यक्ता पनि औंल्याए।
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भूकम्प प्रतिरोधी भवन निर्माण गरेर त्यसको जोखिम न्यूनीकरणको अभियानमा जुट्न प्रदेश र स्थानीय तहको सरकारलाई आग्रह गरे। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भवन संहिताको पूर्ण पालना गरेर भूकम्प प्रतिरोधी भवन निर्माण गर्न पनि सबैलाई आग्रह गरिन्।