काठमाडौं। म्याग्दीको आधार शिविर पुग्ने पदमार्ग निर्माण गरिएको छ। म्याग्दीस्थीत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको हो।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारालगायतका पूर्वाधार निर्माण गरिएको छ। पर्यटन मन्त्रालयबाट विनियोजन करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ।
हालसम्म ढुंगा चिनेर ६ हजार पाँच सय वटा सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको जनाइएको छ। अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ। उक्त सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको छ।
पर्यटन विभागबाट खानी एण्ड एबी जेभी निर्माण कम्पनीले ठेक्कामार्फत पदमार्गमा पूर्वाधार बनाउने जिम्मा लिएको थियो। अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ।