काठमाडौं। म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ। मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो।
१० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण सुरु गरिएको छ। अस्पतालमा आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन निर्माण गर्न लागिएको हो।
भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्शन काठमाडौंसँग २०७८ असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। उक्त भवनको कुल १२ करोड ९७ लाख लागत अनुमान गरिएको छ। २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले शिलान्यास गरेका थिए।