बागलुङ। ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान सुरु गरिएको छ। बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले उद्यान निर्माणको काम सुरु गरेको हो।
उद्यान निर्माणको जिम्मेवारी पाएको उपभोक्ता समिति र घरबासले संरचना निर्माणका लागि रकम अभाव भएकाले सहयोग अभियान थालेका हुन्। एक सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रफलमा उद्यान निर्माण गर्न सुरु गरिएको छ।
गण्डकी प्रदेश सरकारले घरबासका लागि उपलब्ध गराएको १० लाख अनुदान सहयोगबाट उद्यानको काम सुरु गरिएको हो। झण्डै पाँच करोड ५० लाखको विस्तृत परियोजना प्रतिवेदन रहेको उद्यानका लागि १० लाखमात्रै अनुदान मिलेको छ। बाँकी रकम जुटाउन उपभोक्ता समिति, स्थानीयवासी र घरबास सञ्चालकले दाताको साथ खोजिरहेका छन्।
उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालय समेत निर्माण गर्ने योजना घरबासले बनाएको छ। यहाँ आउने जो–कोहीले ग्रामीण पर्यटनका पिताको विषयमा जानकारी पाउन सक्ने छन्।
घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए।