काठमाडौं। बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन्। आयोजनाले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० का नौ घरधुरीको मात्र जग्गा अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयवासीले आपत्ति जनाएका हुन्।
स्थानीयवासीले उचित मुआब्जाको ग्यारेन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको हो।
आयोजनाले खम्बा निर्माण हुने जग्गाधनीलाई मात्रै मुआब्जा उपलब्ध गराउने भनेपछि त्यहाँका १२० घरधुरीले विरोधमा उत्रिएका हुन्। विद्युत् तार पर्ने जग्गाधनीलाई पनि क्षतिपूर्ति दिनुपर्ने, ऐलानी जग्गालाई पनि मुआब्जा दिनुपर्ने, सरकारी दररेट नभइ चलनचल्तीको मूल्य दिनुपर्ने माग अघि सारेका छन्।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विवाद समाधानको पहल गरिरहेको जनाइएको छ। विवाद नभएका स्थानमा प्रसारण लाइनको काम अघि बढिरहेको छ। सरकारले आयोजनाका लागि रुख कटानसम्बन्धी प्रस्ताव अझ स्वीकृत गरेको छैन्। जसले गर्दा जङ्गल क्षेत्रमा निर्माणकार्य प्रभावित हुन पुगेको छ।
आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्नेछ। वि.सं २०७७ असारमा ठेक्का सम्झौता भएपनि कम्पनीले भदौ तेस्रो सातादेखि निर्माण कार्य सुरु गरेको हो। रुख कटान स्वीकृतिमा ढिलाइ, स्थानीयवासीको अवरोधलगायतका कारण आयोजना तोकिएको समयमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्न थालिएको छ।