मोरङ। कानेपोखरी–२ स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ। दर्बेसा र केराउन जोड्ने गेउरिया खोलाको पुल निर्माण अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्न माग गर्दै स्थानीयले उजुरी दिएका हुन्।
दुई वर्षमा सम्पन्न गर्नेगरी २०७१ साल कात्तिकमा सम्झौता भएको पुलको काम हालसम्म ७० प्रतिशत मात्र पूरा भएको छ। निर्माण कम्पनीले विना कारण काम रोकेको भन्दै कानेपोखरीका राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्यले कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिएका छन्।
निवेदनमा उल्लेख गरिएको छ, “दुई वर्षभित्र सक्नेगरी सम्झौता भए पनि सात वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन। पुल नहुँदा उक्त ठाउँमा सर्वसाधारण जनतालाई आवतजावतमा समस्या छ। गत बुधबार राति आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो। सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुनेक्रम लामो समयदेखि निरन्तर जारी छ। यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो।”
पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदकले पुल निर्माणमा लापर्बाही गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।