भोजपुर। आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ। गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी ३० परिवारका लागि घर निर्माण गरिदिएको हो।
एक परिवारका लागि तीन लाख खर्च गरेर घर बनाइदिएको गाउँपालिले जनाएको छ। पुस्तौंदेखि पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए।
उनले भने, ‘राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएपछि अहिले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ ।’
गाउँपालिकाले यहाँका विपन्न परिवारलाई स्थानीय सरकार भएको अनुभूति दिलाएको स्थानीयले बताए। जन्मेदेखि घरविहीन भएर बसेको अवस्थामा गाउँपालिकाले घर निर्माण गरी दिएपछि आफू हर्षित भएको उनीहरुको भनाइ छ। गाउँपालिकाले घर निर्माण गरिदिएपछि उनीहरुको दैनिक जीवनमा सहज भएको छ ।