चितवन। नारायणी नदीमा चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ। तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ।
बाँकी चार खण्डको आउँदो दुई हप्ताभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको छ। सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार दुई हप्ताभित्र सबै खण्डको बोलपत्र आह्वान भइसक्ने छ। उहाँका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ।
पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गरिंदै छ। प्रत्यक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो। यसै वर्षको वर्षातमा बाढी रोक्न सकियोस् भनेर काम सुरु गरिएको उनको भनाई छ। तीन मिटरदेखि चार दशमलव पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिंदै छ।
अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षिय ठेक्कामार्फत् काम सम्पन्न हुने बताइएको छ। नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेकै कारण उपलब्धी भएको जनाइएको छ।
नदी तटबन्धका लागि गुरुयोजना तयार भएको छ। गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको हो। त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ। त्यसमध्ये पहिलो चरणमा पाँच अर्ब रुपैयाँको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो।
नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका एवं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन्।