म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ। संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण गर्न शुरु गरेको हो ।
आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए। उनले भने, “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म ९ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ। एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न शुरु गर्छौं ।”
३ हजार ६ सय मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४ सय मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।
कूल ३ अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।