म्याग्दी। म्याग्दीका तीन स्थानीय तहमा अस्पतालको भवन निर्माण गर्न शुरु गरिएको छ। मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको अस्पतालको भवन बनाउन थालिएको हो।
जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरे भवन निर्माण कार्य शुरु गरिएको छ।
रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेगमा अस्पताल भवन बनाउने गाउँसभाको बहुमतका आधारमा निर्णय भएको एक वर्ष बिते पनि काम शुरु भएको छैन । मङ्गलाको ३५ कोठे दुईवटा भवन बनाउन रु नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्शनले जग्गा ब्यवस्थापनको काम शुरु गरेको छ ।
गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलका अनुसार विसं २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आगामी २०८० असार ९ गतेभित्र दुईवटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्णको भवन निर्माणका लागि रबिना–अमित जेभीले विसं २०७८ वैशाख १७ गते रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले विसं २०७९ असोजमा दुईतले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए।
रु चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरिको ताकममा पाँच शय्या क्षमताको अस्पतालको १६ कोठे दुईतले भवन बनाउने ठेक्का लिएको बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले डिपिसी लेबलको ढलान सकेको छ । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले २०७९ असार १५ गतेभित्र दुईतले १६ कोठे भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।