काठमाडौं। देशभर निर्माणाधीन ५० वटा चार्जिङ स्टेसनको काम आधाभन्दा बढी सम्पन्न भएको छ। विद्युतीय सवारी चार्ज गर्ने सुविधाका लागि देशका विभिन्न स्थानमा निर्माण भइरहेको चार्जिङ स्टेसनको ६० प्रतिशत काम पूरा भएको हो।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको स्टेसनहरुको विद्युतीय सवारी चार्जिङ गर्ने चार्जर राख्ने संरचना तयार भइसकेको र संरचनामा चार्जर जडान गर्न बाँकी रहेको बताइएको छ।
लक्ष्यअनुसार नै चार्जिङ स्टेसन तयार गर्ने गरी निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ। चार्जर अहिलेसम्म आइनपुगेको र आएपछि धमाधम जडान गरेर चार्जिङ स्टेसन सञ्चालनका लागि तयार गर्ने आयोजनाको भनाइ छ।
निर्माणाधीन चार्जिङ स्टेसन २०७९ असारभित्र सम्पन्न गरिसक्नु पर्ने तालिका छ । लक्ष्यअनुसार नै सबै चार्जिङ स्टेसनको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने आयोजनाको दाबी छ।
यी ५० वटा चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्कासम्झौता भएको छ। हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।