वीरगञ्ज। जमुनी सिँचाई आयोजनाको तटबन्ध र गेट निर्माणको कार्य यसै वर्ष शुरु हुने भएको छ। जमुनीको तटबन्ध र गेटको ठेक्का प्रक्रिया पूरा भएपछि निर्माण कार्य शुर हुने भएको छ।
यो आयोजना पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरको सहायक हो। नहरअन्तर्गत बाराको आदर्श कोतवाल–२ कोतवाली नजिकै आयोजना निर्माण गरिएको छ।
कार्यालय प्रमुख प्रसुन मिश्रका अनुसार गण्डक नहरको पानी भारत नियन्त्रित छ। नेपाललाई चाहिनेजति आउँदैन। त्यसैले अहिले गण्डक नहरका १५ वटा ब्लकमध्ये १० नम्बर ब्लक पर्साको जानकीटोलादेखि बाराको कोतवालीसम्म मात्र सिँचाइ हुने गरेको छ।
भारतबाट पानीको मात्रा कम आउने र सिँचाइको सेवा क्षेत्र ठूलो हुँदा ११ ब्लकदेखि १५ ब्लक सम्म पानी जाँदैन। बाराको जमुनी खोलामा सिँचाइ आयोजना बनाएर पूर्वका ५ वटा ब्लकसम्म सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।
जसअन्तर्गत ६ वर्षदेखि सहायक आयोजनामा काम भइरहेको हो। करिब ३० करोडको लागतमा जमुनी सिँचाइको हेडवर्क्स र फिडर नहर तयार भइसकेको छ। तटबन्ध र पानी रोक्ने गेट निर्माण भएपछि उक्त आयोजनाबाट चाहिएको बेला पानी गण्डक नहरमा खसाल्न सकिन्छ।
अहिले उक्त खोलाको पानी सोही क्षेत्रका मात्र किसानले खोलाबाट बोरिङले खेत सिँचाइ गर्ने गरेका छन्। आयोजना निर्माण भए पनि दायाँबायाँ तटबन्ध बनाउन बाँकी नै छ। यसले गर्दा गण्डक नहरमा चाहिएको मात्रामा पानी जम्मा गरी लग्न सकिएको छैन।