काठमाडौं। स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिका विकासमा अघी बढेको छ। गाउँपालिकामा विभिन्न विकास निर्माणका काम अघि बढेका हुन्।
वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक मर्मत भएका छन्। गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहार नै फेरिएको छ। गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ। उक्त गाउँपालिकाका सबै वडामा अहिले धमाधम सडक र नाली निर्माण कार्य भईरहेको छ।
खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण सुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ। अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको बताइएको छ।
गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको भनाइ छ।