बागलुङ। बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान प्रविधिको संसारकै लामो दाबी गरिएको पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ।
शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजार पुरस्कार प्रदान गरेको हो।
सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए। सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरेका छन्।
नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो । सापकोटाले नाम मात्रै राखेका थिएनन् उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए।
५ सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो । बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।