काठमाडौं। सरकारले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने भएको छ। सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव लगेका थिए। उक्त प्रस्तावमाथि सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर १५ भगवानपुरमा बनाउने निर्णय भएको जनाइएको छ।
शिक्षक अस्पताल भरतपुरमा बनाउन सोमबारको मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको बताइएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि भरतपुरमा शिक्षक अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएको बताएकी छिन्।
कर्मचारीका लागि निजामति अस्पताल र शिक्षकका लागि शिक्षक अस्पताल बनाउँदै जाने तर सरकारी अस्पतालमा सेवा÷सुविधा थप गर्नेमा ध्यान नदिइएको भन्दै आलोचना हुने गरेको छ।