काठमाडौं। दमौली तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ। बीचमा रुखसहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो।
रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ। त्यसैलाई मध्यनजर गर्दै हिजो बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको बताइएको छ।
दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिने भएको छ। तनहुँसुरमा वनभोजका लागि पर्यटकको आगमन बढ्न थालेको र खानेपानीको समस्या देखिएकाले तीन दिनभित्र खानेपानीको व्यवस्था मिलाउन लागिएको छ। देउराली डाँडाको मुख्यभागमा रहेको ठाउँमा पाँच मिटरको नेपालको झण्डा एक हप्ताभित्र राखिने जनाइएको छ।
यसैगरी दुवै चौताराको बीचमा पर्ने क्षेत्रको तल्लो भागमा सार्वजनिक शौचालय एक महिनाभित्र निर्माण गर्ने तयारी गरिएको छ। अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ।