काठमाडौं। स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो।
बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन। विद्युत् अभावका कारण झण्डै सात÷आठ महिनासम्म प्लान्ट प्रयोगविहीन अवस्थामा रहेको अक्सिजन प्लान्ट नेपाल विद्युत प्राधिकरणसँगको समन्वय र सहयोगमा विद्युतको क्षमता विस्तार गरी सञ्चालनमा ल्याइएको हो।
अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिले बताएको छ। पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालले जानकारी दिएको छ। प्लान्टबाट दैनिक ७० देखि ७५ वटा सिलिण्डर भर्न सकिने छ।