काठमाडौं। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबिखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन्। मन्त्री झाँक्री बुधाबार करिडोरमै पुगेर अतिक्रमित क्षेत्रको अनुगमन गरेकी हुन्।
पटक–पटक सचेत गराउँदा पनि सवारी साधन नै पास नहुने गरी सडक छेउमा निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने कार्य बन्द नगरेपछि मन्त्री आफैँ अनुगमनमा निस्किएकी हुन्। उपत्यका विकास प्राधिकरणले कानुन विपरीत यस क्षेत्रको सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएपनि अतिक्रमण रोकिएको छैन।
मन्त्री झाँक्रीले अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन्। अब पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने मन्त्री झाँक्रीले चेतावनी समेत दिएकी छन्।

उपत्यका विकास प्राधिकरण ऐनअनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ। तर ऐन विपरीत सडक अतिक्रमण गर्नेहरुलाई अब कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ।
मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन्। मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको छ।