चितवन। भरतपुर महानगरपालिकामा ‘स्मार्ट सडक बत्ती’ जडान कार्य शुरु गरिएको छ। महानगर प्रमुख रेणु दाहालले मंगलबार स्मार्ट सडक बत्ती जडान कार्यको शुभारम्भ गरेकी हुन् । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ‘राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना’ अन्तर्गत मंगलबारदेखि महानगर भरी सडक बत्ती जडान कार्य शुरु गरेको हो।
महानगरसँगको सहकार्यमा १ हजार ९ सय ३३ वटा स्मार्ट सडक बत्ती जडान गर्न शुरु भएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार ‘उज्यालो सहर अभियान’ मार्फत महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवत जावत सहज बनाउन सडक बत्ती जडान गर्न थालिएको हो।
भरतपुर महानगरका ८ वटा रुटको ८० किलोमिटर सडकमा बत्ती जडान गर्ने प्राधिकरणको योजना छ । आयोजना सम्पन्न गर्न ११ करोड ४९ लाख रुपैयाँ लाग्ने अनुमान छ । स्मार्ट सडक बत्ती जडानका लागि प्राधिकरण र महानगरले संयुक्तरूपमा लगानी गरेका छन् ।