भरतपुर। भरतपुर अस्पतालले प्रसूति सेवालाई अझ व्यवस्थित र सहज बनाउन छुट्टै भवन निर्माण गर्ने भएको छ। प्रसूति गराउने महिलाको चाप बढ्दै गएकाले सेवालाई थप व्यवस्थित बनाउन छुट्टै भवन बनाउन लागेको हो।
अस्पतालका अनुसार भवन निर्माणका लागि हाल डिपीआरको काम भइरहेको छ। छुट्टै भवन भयो भने डेलिभरी, अपरेशन र त्यसपछिको हेरचाह सबै एकै ठाउँमा गर्न सहज हुने र यसले सेवा थप प्रभावकारी र सहज पनि बनाउने अस्पतालले जनाएको छ।
बर्थिङ सेन्टर सहितको छुट्टै दुई सय शय्याको प्रसुति भवन बनाउने अस्पतालको तयारी हो। भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अस्पतालले चार करोड बजेटका लागि निवेदन दिएको थियो। जसमध्ये मन्त्रालयले दुई करोड रुपैयाँ दिने भनिएपनि हालसम्म कुनै पत्र प्राप्त नभएको अस्पतालले जनाएको छ।
सरकारबाट बजेट प्राप्त नभए अस्पताल विकास समितिको रकमले भएपनि ५० शय्याको भवन बनाउने बताइएको छ।