काठमाडौं। रातामाटे–रसुवागढी–केरुङ प्रसारण लाइन डबल सर्किट बनाइने भएको छ। चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको केही हिस्सा डबल सर्किट बनाइने भएको हो।
चिलिमे हबबाट रातामाटेसम्म ४ सय केभी र २२० केभीका छुट्टाछुट्टै प्रसारण लाइनका आयोजना बनाउन अध्ययन भइरहेका बेला एकै ठाउँ एकै प्रकृतिका दुई आयोजना बनाउनुभन्दा रातामाटे–रसुवागढी–केरुङ प्रसारण लाइनलाई डबल सर्किट बनाएर लैजाने नेपाल विद्युत् प्राधिकरणले निर्णय गरेको हो।
एउटै ठाउँबाट २ वटा प्रसारण लाइन बनाउँदा राइट अफ वे, जग्गा मुआब्जा र निर्माणका लागि खर्च बढी हुने भएपछि अन्तरदेशीय प्रसारण लाइनलाई डबल सर्किट बनाउन लागेको प्राधिकरणले जनाएको छ।
अब त्रिशूली थ्री–बी हबदेखि रातामाटेसम्मको २६ किलोमिटर प्रसारण लाइनका विद्युत् टावरमा माथि ४ सय केभी र तल २२० केभी क्षमताका लाइनहरू जडान गरिनेछन् । चिलिमेबाट त्रिशूली थ्री–बी हबसम्म छुट्टै प्रसारण लाइन बनिरहेकाले त्रिशूली बेसिनका आयोजनाहरूबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या नहुने प्राधिकरणले जनाएको छ। त्रिशूली बेसिनमा अपर त्रिशूली थ्री–ए, अपर त्रिशूली थ्री–बी, अपर त्रिशूली–१, सान्जेन, रसुवागढी र निजी क्षेत्रका अरू केही आयोजनाहरूसमेत बनिरहेका छन् ।
प्राधिकरणले केही समयअघि मात्र चीन जोड्ने प्रसारण लाइनको रुट परिवर्तन गरेको थियो । प्राविधिक रूपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय निकुञ्ज भएर नयाँ रुटको सम्भाव्यता अध्ययन गरेको हो ।