काठमाडौं। नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरु नहुँदा स्थानीयवासी चिन्तित भएका छन्। बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै सुरु भएको छैन।
म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन्। गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरु भएको छैन।
शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ। २०५७ सालदेखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिँदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन्।
उक्त नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको बताइएको छ। पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ।