धनगढी। धनगढी उपमहानगरपालिकास्थित शिवगंगा नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको चार वर्ष बितिसक्दा पनि काम शुरु भएको छैन। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको चार वर्ष बित्दा पनि काम शुरु नै नभएको हो।
सरकारले २०७४ साल असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर–१६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल तीन वर्षमा सम्पन्न गर्ने गरी १४ करोड २६ लाखमा ठेक्का दिएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार ठेक्का सम्झौता भएको साढे चार वर्ष पुगे पनि निर्माणको काम शुरु नै नभएको हो। निर्माण कम्पनीले सम्झौताअनुसारको २२ प्रतिशत रकम भने लिइसकेको छ।
सडक डिभिजन कार्यालयका अनुसार ठेकेदारले फाइलिङको काम २५ प्रतिशत सकिएको भनेर ३ कारोड १३ लाख ७२ हजार रुपैयाँ लगेको हो।
ठेक्का सम्झौताअनुसार २०७७ असार २५ भित्र निर्माणको काम सक्नुपर्ने थियो। म्याद सकिएको साढे एक वर्षभन्दा बढी भएको छ।