काठमाडौं। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना बिरामी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँकी ५५ वर्षीया छिरिङ तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर घाइते भएकी तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत हिजो उद्धार गरिएको बताइएको छ। लडेर तामाङको ढाड भाँचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतबार हेलिकप्टर रिजर्भ गरी जिल्ला बाहिर काठमाडौँ लगिएको हो।
हेलिकप्टर रिजर्भका लागि रु आठ लाख खर्च गरेपछि मात्रै उनको उद्धार हुन सफल भएको बताइएको छ। सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य बिरामी पर्दा पनि गरिब निमुखा सर्वसाधरणले ऋण मागेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता कायमै छ। हुम्लामा सडक सञ्जाले नछोएको हुनाले यहाँका नागरीकले समस्या भोग्नुपरेको छ।