कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले अछामका ७ वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ। चालू आर्थिक वर्ष ०७८/७९ बाट सुरु गरेर आव ०८०/८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण सुरु गरिएको हो।
चिसापानी जंगलघाट ऋषिदह बडिमालिका सडक (गैरीटाँड कालागाउँ दर्ना), साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषि दह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडक पुल रामारोशनमा सडक निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
३ वर्षभित्र सम्पन्न हुने गरी निर्माण गरिने उक्त सडकका लागि १ अर्ब ७ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
आगामी आर्थिक वर्ष ०७९/८० मा ५२ करोड ३७ लाख र आव ०८०/८१ मा ४३ करोड ५९ लाख ९३ हजार गरी ७ वटा सडकका लागि १ अर्ब ७ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको बताइएको छ।