काठमाडौं। तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ। कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो।
कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको बताइएको छ। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो। महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला कैदीबन्दीलाई पठाउनुपर्ने बाध्यताको अन्त्य हुने कारागार प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरेको छ।
कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको जनाइएको छ। एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ।