काठमाडौं। पर्यटकीय नगरी पोखरामा पूलबारी होटेल खुलाउन प्रदेश सरकारको चासो बढेको छ। पाँच वर्ष देखि बन्द रहेको होटेल खुलाउन सरकारको चासो बढेको हो।
उक्त होटेलले पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो। पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभइ दक्षिण एशियाकै नमूना मानिन्थ्यो।
मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द यो होटेल अहिले भने सुनसान छ। तत्कालीन समयमा झण्डै ४५० जनालाई रोजगारी दिएको यस होटेलमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन्। होटेल तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको बताइएको छ।
सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिने हुनसकेको छैन। पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणका काम लाग्ने अनुमान गरिएको बताइएको छ।
सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ।
होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन्। होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो। सुरुमा लगभग पाँच वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुन सकेन।
पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको द्वन्द्वले पनि होटेल बन्द हुन पुगेको जानकार बताउछन्।