धनगढी। सुदूरपश्चिम प्रदेशमा २ सौर्य विद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमति दिइने भएको छ। लगानी बोर्डले ३५० मेगावाटका २ सौर्य विद्युत आयोजना निर्माण गर्न अध्ययन अनुमति दिने भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सौर्य उर्जाको विकासका लागि अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो ।
डोटीमा अनुमानित १२५ मेगावाट तथा डडेल्धुरामा २२५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन हुनेछ। सौर्य उर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा भारतको सेन्ट्रलइलेक्ट्रोनिक लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गरिएको छ ।