काठमाडौं। म्याग्दी जिल्लाको पर्यटकीयस्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण गर्न सुरु गरिएको छ। मनिषा निर्माण सेवाले हाइअल्टिच्युड खेलमैदान निर्माण गर्न सुरु गरिएको हो।
जिल्लाको रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दै खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू गरिएको हो।
उक्त खेलमैदान निर्माण गर्न मनिषा निर्माण सेवाले पहिलो चरणमा रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता गरेको छ। पहिलो चरणमा ग्याविन लगाउने तथा कटिङ गर्ने बताइएको छ। सम्झौता अनुसार समयमै योजना सम्पन्न गर्ने विश्वास गरिएको छ। उक्त निर्माणधिन खेलमैदानबाट धौलागिरी सहित मनोरम हिमश्रृङ्खलाहरु हेर्न पाइने छ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तथा प्राकृतिक सम्भाव्यता बोकेको टोड्केमा हाइअल्टिच्युड खेलमैदानका लागि पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान निर्माण गरिने रघुगंगा गाउँपालिकाले जनाएको छ।
खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिए पनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ। नेपालमा हाइअल्टिच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भित्र्याउन सकिने व्यवसायीहरु बताउछन्।