काठमाडौं। तनहुँमा सार्वजानिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहराहरु भत्काउन सुरु गरिएको छ। तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो।
१५ दिनभित्र हटाउन र नहटाएमा नगरपालिकाबाट घर टहरा हटाउने सूचना जारी गरेकोमा पुनः १५ दिन म्याद थप गर्दा समेत अटेर गरेका घर टहराहरुलाई भत्काउनुपरेको नगरपालिकाले जनाएको छ।
यसै क्रममा बुधबार वडा नम्बर २ स्थित डाङ्ग्रे खोल्सी देखि अमरापुरीतर्फ रहेका अतिक्रमण गरी बनाईएको जनजागृति र उत्तरशिलाटोलमा निर्माण गरिएका घर तथा टहराहरु डोजरको प्रयोग गरी नगर प्रहरी परिचालन गरेर हटाइएको नगरपालिकाले बताएको छ।
घर तथा टहरा हटाउन पटक पटक पत्राचार गर्ने कार्यालयमा बोलाएर सम्झाउँदा समेत अटेर गरेकाले डोजर नै लगाएर भत्काउनुपरेको बताइएको छ। अहिलेसम्म ५९ वटा घर तथा टहरा मापदण्डविपरीत निर्माण गरिएको र १५ वटा पुरै अतिक्रमण गरी निर्माण गरिएको पाइएकाले भत्काउने कार्य भइरहेको जनाइएको छ।