काठमाण्डौं। म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ। मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो।
एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाले जनाएको छ। बर्खा अघिनै चैत महिनाभित्र नदी नियन्त्रणको काम सक्ने लक्ष्य सहित ठेकेदार परिचालन भएका छन्। प्रतिस्पर्धाका आधारमा कार्यशक्ति कन्ट्रक्सन काठमाडौले ६४ लाखमा ठेक्का सम्झौता गरेको छ।
५६ मिटर लामो र सात मिटर अग्लो आरसिसी पक्की पर्खाल निर्माण गर्न लागिएको बताइएको छ। गत मङ्सिर २८ गते सम्झौता गरेका ठेकेदारले नदी किनारमा पर्खाल निर्माणका लागि खोलाको पानी डाइभर्सन गरेर जग खन्न सुरु गरेका छन्। गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ५६ लाखमा ठेक्का लिएको ४२ मिटर लामो र सात मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनालाई पनि यसै वर्ष पूर्णता दिन म्याद थप भएको छ। सो योजनाका लागि ८० लाख बजेट विनियोजन भएकोमा हिमालयन बिल्डर्सले ५६ लाखमा ठेक्का स्वीकार गरेको थियो।
गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएको थियो। निर्माणाधिन पर्खालमा क्षति पुर्याएको बाढीले बजारतर्फ कटान गरेर एक वटा घर, जनप्रिय माबिको भवन र खेलमैदान भत्किएको थियो। थप कटान हुन नदिन म्याग्दी नदी किनारको जोखिमयुक्त सबै भागमा पक्की पर्खाल निर्माणगर्न लागिएको बताइएको छ।