काभ्रे। भीरबाट खसेर सिकिस्त भएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। काभ्रेको विकट खानीखोला गाउँपालिका–४ बाँसघारीकी ४० वर्षीया ग्यान्जामाया लोप्चनको हेलिकप्टरबाट उद्धार गरिएको हो।
स्थानीयका अनुसार सिकिस्त लोप्चनलाई मनाङ एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको छ। बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा डाँडागाउँ र सिरुटारको बीचमा पर्ने भीरबाट लोप्चन लडेको स्थानीयले जानकारी दिए।
लोप्चनको टाउकोलगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको बताइएको छ। लोप्चन भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन्। लडेर बेहोस भएकी लोप्चनको अवस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौ पठाएको हो।