काठमाडौं। हेटौँडा उपमहानगरपालिका–६ चित्रेपानीमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको भवन निर्माणमा ढिलाइ भएको छ। निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता अवधि सकिँदा पनि ५० प्रतिशत मात्र काम पूरा भएको हो।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवद्वारा २०६६ सालमा गरिएको भारत भ्रमणका अवसरमा नेपाल र भारतबीच भारत सरकारको अनुदानमा उक्त भवन निर्माण गर्न सम्झौता भएको थियो।
भवन निर्माण गर्न भारत सरकारले ४८ करोड ४८ लाख भारतीय रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो। भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसनले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा भवन निर्माण गर्न २०७६ भदौ १४ गते सम्झौता गरेको थियो। दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण भारतीय निर्माण कम्पनीले नेपाली कम्पनी शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो।
नेपाली निर्माण कम्पनीले २३ ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोस्रो तलाको काम पूरा भएको जनाएको छ। भारतीय कम्पनीबाट रकम भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ।
औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उक्त भवन निर्माण शुरु गरिएको हो।