सुर्खेत। सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढेको छ। परियोजनाको पूर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीको काम थालिएको हो।
पाँच वर्ष अघि नै गरिएको परियोजना निर्माणका लागि संघीय सरकारबाट बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको थिएन। चालु वर्षको बजेटमार्फत सुर्खेत मेडिकल कलेज निर्माण गर्न सरकारले रकम विनियोजन गरेसँगै प्रादेशिक सरकारको प्राथमिकतामा समेत रहेको सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढेको हो।
परियोजनाले विरेन्द्रनगर नगरपालिकाको ११ र १३ वडाको केही क्षेत्र ओगट्ने छ। त्यहाँको ४३.२ हेक्टर वन क्षेत्र पनि प्रयोग हुने छ। त्यहाँ अस्पताल भवनका साथै डाक्टर आवास, स्टाफ आवास, गार्ड हाउस, क्यान्टिन भवन, बहुद्देश्यीय हल, खेलकुद ग्राउन्डका साथै ओभरहेड पानी ट्यांकी पनि बन्ने छ।