गलकोट। ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निसिखोलामा १३ कोठे विद्यालय भवन निर्माण गरिएको छ। बागलुङको निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयमा वेलफेयरले १३ कोठे भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो।
बेलायती नागरिक रव अबरेन्ट्रीको आर्थिक सहयोगमा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले उक्त विद्यालय भवन निर्माण गरेको हो। दातृ संस्था गोर्खा वेलफेयर ट्रस्ट नेपालले प्रभा माविको रु दुई करोड तीन लाख लागतमा १३ कोठाको विद्यालय भवन निर्माण गरेको विद्यालयले जनाएको छ।
विद्यालयको भौतिक अवस्था निकै जीर्ण रहेकाले हाम्रो अनुरोधमा ट्रस्टले एक वर्षको अवधिमा उक्त भवन निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। भवन निर्माणका लागि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएपछि ब्रिटिस गोर्खा वेलफेयर ट्रस्ट नेपालमा सहयोगका लागि आग्रह गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्षले जनकारी दिए।
विसं २०१७ मा स्थापना भएर अहिले कक्षा १२ सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म दुई÷दुईवटा कक्षा छुट्याएर अध्यापन गराइरहेको विद्यालयले जनाएको छ। विद्यालयमा अहिले पनि ६७५ विद्यार्थी अध्ययनरत रहेका छन्।