लमजुङ। मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य आधा सकिएको छ। लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म पुग्ने प्रसारण लाइनको काम ५० प्रतिशत पूरा भएको हो।
प्रसारण लाइनका लागि १ सय ९३ वटा टावर आवश्यक पर्नेमा हालसम्म हालसम्म १८ टावर खडा भइसकेको र ४५ टावरको जग तयार गर्ने कार्य भएको छ।
दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउनका लागि ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको र उदिपुरदेखि मध्य–मर्स्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले तार तान्ने कार्य भइरहेको बताइएको छ।
तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुने आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार ६ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ। ४५ टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० टावर उठाउने काम भइरहेको छ।
अठार वटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मर्स्याङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ। आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ। त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सवस्टेसन पनि निर्माण भइरहेको आयोजनाले जानकारी दिएको छ।
दुई सय २० केभीको उक्त आयोजनाको निर्माण कार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बताइएको छ।