म्याग्दी। म्याग्दीको बेनीमा सहिद स्मृति भवन निर्माण गरिने भएको छ। नेकपा माओवादी केन्द्र म्याग्दीले २७औं जनयुद्ध दिवसको अवसरमा भवनको शिलान्यास गरेको हो।
सहिदहरुको स्मृतिमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास सहिद मदन केसीकी आमा खिमकुमारी केसीले गरेकी छन्। भवनको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज गोविन्द पौडेलले जनयुद्धमा म्याग्दीबाट ज्यान गुमाउने सबै सहिदहरूको स्मृतिको प्रतीकको रूपमा पार्टी कार्यालय भवन निर्माण गर्न लागिएको बताए ।
माओवादी जनयुद्धमा जिल्लाबाट ७८ जनाले ज्यान गुमाएका थिए । पार्टीका नेता तथा कार्यकर्ताहरू र शुभेच्छुकहरूबाट आर्थिक संकलन गरी भवन निर्माण गर्न लागिएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिए । आगामी तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु ३४ लाख लागतमा जग्गा खरिद गरी दुई तले पार्टी कार्यालय भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
भवन निर्माणमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत ३५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
भवनको शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्लाइन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक तथा सहिद परिवारका सदस्य रेशम जुग्जालीसहित परिवारका सदस्य गणेश सुवेदीलगायतको सहभागिता थियो ।