काठमाडौं। काठमाडौं भ्यूटावरको निर्माण कार्य हालसम्म ७० प्रतिशत पूरा भएको छ। पुरानो बसपार्कमा निर्माण भइरहेको अनुमानित ४ अर्ब ७० करोड लागतको भ्यूटावरको निर्माण कार्य ७० प्रतिशत पूरा भएको हो।
२०७२ साल कात्तिकबाट निर्माण शुरु भएको भ्यूटावर २९ तलाको हुने सम्झौतामा उल्लेख भएपनि हाललाई १२ तलाको मात्र नक्सा पास गरिएको छ।
काठमाडौं महानगरपालिकाले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो ।
सो कम्पनीले भाडामा लिएको जग्गामा व्यावसायिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।