कास्की। पोखरास्थित फेवाताल–सराङकोट केबलकार फागुन ६ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ। पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म निर्माण गरिएको केबलकारको शुक्रबार शुभारम्भ गरिने भएको हो।
अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको ‘अन्नपूर्ण केबुलकार’को आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’ गर्न लागिएको हो। केबलकार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुने अन्नपूर्ण केबुलकार प्रालिले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको कम्पनीको भनाइ छ ।
अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ ।
केबुलकारमा हालसम्म २ अर्ब रुपैयाँ लगानी भएको कम्पनीले जनाएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो ।