काठमाडौं। निर्माणाधीन २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्डको काम अन्तिम चरणमा पुगेको छ। पर्वतको कुस्मादेखि रुपन्देहीको बुटवलसम्म निर्माणाधीन ८७ किलोमिटर प्रसारण लाइनको काम ७० प्रतिशत पूरा भएको हो।
प्रसारण लाइनको रुटमा कूल २३३ मध्ये १७५ वटा टावरको जग खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार धेरै टावर निर्माण भइरहेकाले अब विभिन्न स्थानमा गरी ५८ वटा टावरको काम मात्र बाँकी छ ।
वन क्षेत्रमा भने रुख कटानका लागि स्वीकृति पाउन भएको ढिलाइका कारण काम अघि बढ्न नसकेको हो । वन क्षेत्रको जग्गाको सट्टा भर्नाका सम्बन्धमा सहमति जुट्न समय लागेकाले रुख कटानको अनुमति पाउन ढिलाइ भएको थियो ।
अहिले रुख कटानको अनुमति दिने सम्बन्धमा वन विभागसँग सम्झौता भइसकेकाले प्रक्रिया अघि बढिसकेको आयोजनाले जनाएको छ।
रुख कटानको आदेश पाउने र अरु कुनै प्रकारको अवरोध नभएमा बाँकी काम सम्पन्न गर्न ३ महिनाभन्दा बढी समय नलाग्ने आयोजनाको दाबी छ। प्रसारण लाइनको रुटमा पर्ने जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति दिने कार्य पनि भइरहेको छ ।
कालीगण्डकी कोरिडो प्रसारण लाइन अन्तर्गत निर्माणाधीन यो दोस्रो खण्ड हो । प्रसारण लाइनको पहिलो दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।तेस्रो खण्ड न्यू बुटवल–बर्दघाट खण्डको संरचना निर्माणको काम सुरु हुँदैछ ।